काठमाडौं,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेपछि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।


राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि संविधानबमोजिम सिंहलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा तोकेका हुन्।
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागिता जनाउन मंगलबार थाइल्याण्ड गएका हुन्।

प्रधानमन्त्रीको विदेश यात्राको समयमा मन्त्रिपरिषद्मा दोस्रो वरियतामा रहेका सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ।