काठमाडौं,२० चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थानीय तहको अधिवेशन सम्पन्न गर्न पुनः म्याद थप गर्ने निर्णय गरेको छ। पार्टी सचिवालयको बैठकले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी समय सीमा लम्ब्याउने निर्णय गरेको हो।


यसअघि, लोसपाले चैत १७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको थियो। तर, निर्धारित समयभित्र प्रक्रिया टुंगोमा नपुगेपछि पुनः म्याद थप गर्नुपरेको महासचिव मनिष मिश्राले जानकारी दिए।
स्थानीय तहको अधिवेशन गराउन यो दोस्रोपटक समय थपिएको हो। प्रारम्भमा चैत ७ गतेभित्र सम्पन्न गर्ने भनिएको थियो। त्यो सम्भव नभएपछि चैत १७ सम्म लम्ब्याइएको थियो। अब पनि प्रक्रिया सुस्त भइरहेकाले चैत मसान्तसम्मको समय थपिएको छ।

स्थानीय, जिल्ला तथा प्रदेश अधिवेशनको ढिलाइका कारण आगामी वैशाख २६ गते तय गरिएको पार्टीको महाधिवेशन पनि सारिने सम्भावना बढेको छ। पार्टी नेतृत्वले महाधिवेशनको नयाँ मिति तय गर्नुपर्ने स्थिति आउन सक्ने संकेत गरेको छ।