गान्धीनगर, २० चैत्र । गुजरात राज्यको बनासकाँठा जिल्लास्थित पटाका उद्योग र गोदाममा भएको भीषण विस्फोटमा २१ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
डिसा नगरको “दीपक ट्रेडर्स” नामक पटाका कारखानामा मंगलबार भएको विस्फोट यति शक्तिशाली थियो कि केही मजदुरका अंगहरू ५० मिटर टाढासम्म छरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
घटनालगत्तै फायर ब्रिगेड टोली परिचालित भए पनि आगो निभाउन ६ घण्टाभन्दा बढी समय लागेको थियो। प्रारम्भिक रिपोर्टमा ६ जनाको मृत्यु पुष्टि भए पनि आगलागी नियन्त्रणपछि खोजी गर्दा मृतक संख्या २१ पुगेको हो।
घटनाका बेला उद्योगमा कति मजदुर थिए भन्ने यकिन भइसकेको छैन। मृतकहरू मध्यप्रदेशको हरदा जिल्लाका हंडिया गाउँका भएको खुलेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उद्योगसँग पटाका बिक्रीको अनुमति मात्र थियो, तर उत्पादन गर्ने अनुमति थिएन। यस घटनापछि स्थानीय प्रशासनले छानबिन अघि बढाइसकेको छ।
गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले दुर्घटनाका पीडितलाई क्षतिपूर्तिको घोषणा गरेका छन्। भारतमा पटाका उद्योगहरूमा सुरक्षाका मापदण्ड बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्।




