पाँचथर,२२ चैत । वनमा लागेको भीषण डढेलोका कारण पाँचथरमा एक युवतीको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।


कुम्मायक गाउँपालिका–३ ताम्राखुमा बिहीबार लागेको डढेलोले हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको ज्यान लिएको हो। उनी घाँस काट्न गएकी थिइन्। प्रहरीले जनाएको अनुसार, प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे पनि जंगल गएका थिए। आगो फैलिन थालेपछि जोगिन खोज्दा उनीहरू डढेलोको चपेटामा परेका थिए।
घटनामा घाइते भएका चारैजनालाई तत्कालै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर, बाटोमै प्रतिमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए। बाँकी तीनजनाको उपचार भइरहेको छ।

डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीका अनुसार हावाहुरीका कारण आगो बस्तीमा फैलिने उच्च जोखिम रहेको छ। आगो निभाउने प्रयासमा रहेका स्थानीय खगेन्द्र विक पनि लडेर घाइते भएका छन्।
यसैबीच, फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन्। दाउरा संकलन गरेर फर्कने क्रममा उनी आगोको चपेटामा परेकी हुन्। अहिले उनको धरानमै उपचार भइरहेको छ।