बीरगन्ज,२२ चैत । बीरगन्जस्थित गणपति एग्रो प्रोडक्ट्स प्रा.लि. नामक उद्योगले उद्योगको नाममा सुपारी आयात गरेर भारततर्फ अवैध रूपले निकासी गर्दै आएको खुलासा भएको छ। पछिल्लो एक वर्षमा यस उद्योगले ‘सच्चा मोती’ नामक ब्राण्डको आकर्षक प्याकेटमा सुपारी आयात गरेको र त्यसलाई भारत पठाएको समाचार स्रोतले जनाएको छ।


गणपति एग्रो प्रोडक्ट्स प्रा.लिले आफ्नो उद्योगको नाममा ठूलो लगानी भएको भनी सुपारी आयातको स्वीकृति लिएपछि हजारौं टन सुपारी आयात गरेको भए पनि, बजारमा यस ब्राण्डको सुपारी कतै उपलब्ध छैन। व्यवसायीहरूका अनुसार, ‘सच्चा मोती’ सादा काटेको सुपारी प्याकेटमा देखाइन्छ, तर यसका बारेमा बजारमा कुनै जानकारी छैन।
आयात गरिएको सुपारीको कुनै पनि कागजात वा प्रमाण फेला नपरेको र बजारमा पनि यस्तो सुपारी नपाइने कुरा पुष्टि भएको छ। यसरी अवैध रूपमा सुपारी आयात गरेर विदेश पठाउने कार्यले राज्यको राजस्वमा ठूलो क्षति पुर्याउने खतरा उत्पन्न गरेको छ।

यस घटनामा संलग्न व्यक्ति तथा संस्था विरुद्ध अनुसन्धान सुरु गरिएको छ, र आवश्यक कानूनी कारबाही अघि बढाउने तयारी गरिएको छ।