काठमाडौं,२३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी अब पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सम्हाल्ने भएका छन्। उच्च अदालतको आदेशसँगै पार्टी सभापति रवि लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो।


लामिछानेलाई पार्टी सभापतिको जिम्मेवारीबाट अस्थायी रुपमा मुक्त गरिएपछि, अर्यालले उक्त जिम्मेवारी पाएका हुन्। अर्यालको कार्यवाहक सभापतिको नियुक्ति शुक्रबार राति भएको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले अनुमोदन गरेको थियो।
यसअघि पनि लामिछाने हिरासतमा हुँदा अर्यालले कार्यवाहकको भूमिका निभाएका थिए। केही दिनअघि मात्रै लामिछाने पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए।

संगठित सहकारी ठगीको आरोपमा रहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि, शुक्रबार राति ९ बजे उनलाई पक्राउ गरिएको थियो। अहिले उनलाई विमानमार्फत रुपन्देही पठाइने तयारी भइरहेको छ।