काठमाडौं, २३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटकको सगरमाथा संवादमा सहभागी नहुने जानकारी गराएका छन् ।


शनिबार थाइल्यान्ड भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले शुक्रबार बैंककमा मोदीसँग भएको भेटवार्तामा उक्त जानकारी प्राप्त भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीका अनुसार भारतीय समकक्षी मोदीले पहिल्यै तय भएको युरोप भ्रमण कार्यक्रमका कारण सगरमाथा संवादमा आउन नसक्ने बताएका छन्।
ओलीले भने, “यसपटक मोदीजी आउन भ्याउनुहुन्न। उहाँको युरोप जाने कार्यक्रम पहिले नै तय भइसकेको रहेछ।”

प्रधानमन्त्री ओलीले मोदीको अनुपस्थितिमा भारतबाट उच्चस्तरीय प्रतिनिधित्व हुने जानकारी पनि दिएका छन्। साथै, बैंककमा भएको दुई नेताबीचको भेट सकारात्मक र सुमधुर वातावरणमा सम्पन्न भएको उनले बताएका छन्।