काठमाडौं, २३ चैत्र । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राजतन्त्रको पक्षमा चैत १५ गते भएको हिसात्मक घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहमा रहेको दाबी गरेका छन्।


काँडाघारीमा भएको कार्यकर्ता भेटघाट र विद्यालयको वार्षिक उत्सव कार्यक्रममा बोल्दै खनालले भने, “यदि कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी बनाएर आउन चुनौती दिन्छु।” उनले थपे, त्यो पार्टीले संविधान अनुसार चुनाव लडेर दोहोरो बहुमत ल्याउनुपर्ने र संविधान संशोधन गरेर राजा राख्ने व्यवस्था गर्नु पर्ने कुरा स्पष्ट गरे।
खनालले केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै, “सरकार यथास्थितिवादको बाटोमा हिँडिरहेको छ” भने। उनका अनुसार, वामपन्थी दलका कार्यकर्ताहरूको आकांक्षा राष्ट्रको आमूल परिवर्तन थियो, तर सत्तामा पुगेपछि यथास्थितिवादको बाटोमा हिँड्न थालेका छन्।

उनले सरकारले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि आवश्यक कदम उठाउन नसकेको आरोप लगाए। उनले भूमि सुधार, कृषि क्रान्ति, र कृषिको आधुनिकीकरणको आवश्यकता औंल्याए र भने, “किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ र सरकारले बजारको सुनिश्चितता गर्नु पर्छ।”
खनालले सरकारको कार्यप्रणाली र योजनामा सुधार ल्याउने आवश्यकताको बारेमा पनि कुरा गरे। “स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारको समन्वय गर्ने काम सरकारले गर्नुपर्छ”, उनले जोड दिए।