काठमाडौं, २४ चैत्र । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारसँग विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या समाधान गर्न र शिक्षक कर्मचारीलाई नियमित काममा फर्काउने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्।


नेपाल शिक्षक महासंघको नेतृत्वमा रहेका शिक्षकहरूले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन जारी गर्ने माग गर्दै २०८१ माघ २० गतेदेखि आन्दोलनमा उत्रेका थिए। उनीहरूले शिक्षा ऐनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिरहेका छन् र यसलाई ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन्।
शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हड्तालको घोषणा गरेका छन्। यस हड्तालले विद्यार्थी भर्ना अभियानलाई प्रभावित गर्ने सम्भावना रहेको छ। साथै, शिक्षकहरूको अडान अनुसार एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न सक्ने समस्या आउने चिन्ता पनि व्यक्त गरिएको छ।

यसैबीच, मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकहरूको माग पूरा गर्न आग्रह गरेको छ।