जनकपुर,२५ चैत । मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधिको गम्भीर अभाव देखा परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रहरूमा बारम्बार निर्देशकको परिवर्तन र विवादका कारण औषधि खरिद प्रक्रिया थमि रहेका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ।


औषधि अभावका कारण विशेष गरी विपन्न वर्गका बिरामीहरू समस्यामा परेका छन्। यद्यपि, प्रादेशिक अस्पतालहरूले आन्तरिक स्रोतबाट अत्यावश्यक औषधिहरू खरिद गरेर सेवा सञ्चालन गर्दै आएका छन्, तर सरकारले तोकेका निःशुल्क औषधिहरू बिरामीलाई उपलब्ध गराउन सकिरहेको छैन।
मधेस प्रदेशका १३६ स्थानीय तहमा प्रयोगशालाहरू स्थापना गरिएको भएता पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आवश्यक किटहरूको अभाव रहेको छ। यसैबीच, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवण मिश्रलाई हटाइएको थियो, तर उच्च अदालत जनकपुरधामको आदेशपछि उनी पुनः जिम्मेवारीमा फर्किएका छन्।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा औषधि आपूर्तिका लागि प्रक्रिया अघि बढाइएको र चाँडै औषधिको आपूर्ति हुने आश्वासन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिएका छन्। तथापि, सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधिहरूको आधा पनि आपूर्ति गर्न सकिएको छैन।