काठमाडाैं,२५ चैत । बिमस्टेक (BIMSTEC) सदस्य राष्ट्रका कृषि मन्त्रीहरूको तेस्रो बैठक भोलिबाट काठमाडौंमा सुरु हुँदैछ। उक्त बैठकमा सहभागी हुन भुटानका कृषि तथा वन मन्त्री युन्टेन फुन्सो सोमबार बिहान पारोबाट काठमाडौं आइपुगेका छन्। उनी डु्रक एअरको नियमित उडानमार्फत बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।


यसै बैठकमा सहभागी हुन भारतका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान भोलि (मंगलबार) साँझ काठमाडौं आउने कार्यक्रम रहेको छ। नेपाल वायुसेवाको उडानमार्फत उनी भोलि साँझ सवा ६ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेय पनि भोलि साँझ पौने ६ बजे ढाकाबाट बिमान बंगलादेशको उडानमा काठमाडौं आउने छन्।

उल्लेखनीय छ, बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उच्चस्तरीय सम्मेलन गत शुक्रबार थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको थियो। अब त्यसैको निरन्तरता स्वरूप कृषि क्षेत्रमा सहयोग र समन्वयका विषयमा काठमाडौंमा मन्त्रीस्तरीय बैठक हुँदैछ।