जनकपुर,२६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको जनकपुर आगमन ढिलो भएपछि मंगलबारका लागि तय गरिएको मधेश प्रदेश सभाको बैठकको समय सारिएको छ।


प्रधानमन्त्री ओलीले प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। प्रारम्भिक कार्यतालिका अनुसार बैठक बिहान १० बजे बस्ने भनिए पनि प्रधानमन्त्रीको ढिलाइका कारण बैठक १२:१० बजे सुरु हुने गरी नयाँ सूचना जारी गरिएको छ।
प्रदेश सभा सचिवालयका अनुसार कार्य सञ्चालन नियमावलीको नियम ६(२) बमोजिम सूचना भएको दुई घन्टाभित्र बैठक सञ्चालन नभएमा नयाँ सूचना जारी गरी बैठक सार्न सकिने व्यवस्था अनुरूप यो निर्णय गरिएको हो।

प्रधानमन्त्री ओली यसअघि पनि एकपटक मधेश प्रदेश सभामा सम्बोधन गरिसकेका छन्। सन् २०७५ साल भदौ २ गते उनले तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सभा सम्बोधन गरेका थिए।
यसपटक प्रधानमन्त्री ओलीको कार्यतालिकाअनुसार उनी प्रदेश सभामा विशेष सम्बोधन गरेपछि सिराहामा आयोजित आमसभालाई पनि सम्बोधन गर्ने छन्।