गुल्मी, २६ चैत । गुल्मीका ५५ वर्षीय रतन शाहीको कंकाल दुई महिनापछि फेला परेको छ।


गुल्मी दरबार गाउँपालिका–६ का रतन शाही दुई महिना अघि हराएका थिए। सोमबार राति एउटा कुकुरले मानिसको टाउको जस्तो देखिने वस्तु ल्याएर आएको थियो। यो देखेर वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोलीले मंगलबार बिहान घटनास्थलमा पुगेपछि स्थानीय समुदायको सहयोगमा खोजी कार्य सुरु गर्यो। कालिका सामुदायिक जंगलमा शरीरका अन्य अवशेष फेला परेका थिए। कपडाका आधारमा शाहीको कंकाल र शव पहिचान गरिएको छ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार रतन शाही घाँस काट्ने क्रममा लडेर मृत्यु भएका हुनसक्नेछन्। प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गर्दै यसलाई समाधान गर्ने प्रयास सुरु गरेको छ।