काठमाडौँ, २८ चैत्र । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध आफ्नै कार्यालयका कर्मचारीहरू उत्रिएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्ष प्रवेशमा नगरप्रहरीमार्फत गरिएको अवरोधप्रति आक्रोशित हुँदै कर्मचारीहरूले बालेन र उनका सचिवीय टिममाथि छानबिनको माग गरेका हुन्।
चैत्र २१ गते गुरागाईं कार्यकक्षमा फर्किएलगत्तै महानगर प्रमुख बालेनले नगरप्रहरी परिचालन गरी प्रवेशमा रोक लगाएका थिए। तर, वडाध्यक्षहरू र केही कर्मचारीको सहयोगमा गुरागाईंले कार्यकक्षमा प्रवेश गरेका थिए।
यस घटनापछि बिहीबार विभिन्न कर्मचारी संगठनले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र प्रमुख स्वकीय सचिव भूपदेव शाहमाथि छानबिनको माग गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “नगर प्रहरी प्रमुखको अगुवाइमा कार्यालयको मर्यादा विपरीत गरिएको गैरकानुनी र अनुशासनहीन कार्यको छानबिन गरी दोषीलाई तीन दिनभित्र कारबाही प्रक्रिया अघि बढाइयोस्।”
त्यस्तै, बालेनका प्रमुख स्वकीय सचिव शाहले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्ष तथा अन्य पदाधिकारीहरूको मानमर्दन गर्ने प्रयास गरेको भन्दै कर्मचारीहरूले उनको व्यवहार आपत्तिजनक भएको बताएका छन्। उनीविरुद्ध पनि कानुनी कारबाहीको माग गरिएको छ।
महानगरभित्र बढ्दो द्वन्द्व र अविश्वासको वातावरणले कामकाजमा असर पर्ने देखिएको छ।





