बीरगन्ज, ६ वैशाख । सरकारले आज (शुक्रबार) र भोलि (शनिबार) दुई दिनसम्म देशभरि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ। यो अभियान अन्तर्गत करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १९ लाख एकदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।


स्वास्थ्य सेवा विभागका अनुसार, कार्यक्रममा ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी खटिएका छन्।
किन आवश्यक छ भिटामिन ‘ए’ र जुकाको औषधि?
नेपालमा अझै पनि कुपोषण बालबालिकाको प्रमुख स्वास्थ्य समस्या हो।

भिटामिन ‘ए’ आँखा स्वस्थ राख्न, रतन्धो रोक्न, र शरीरको रोगसँग लड्ने क्षमतालाई मजबुत बनाउन आवश्यक हुन्छ। यसको कमीले अन्धोपनसम्म निम्त्याउन सक्छ।
जुकाको औषधिले पेटमा भएका परजीवी (जुका) हटाएर पोषणको शोषणमा सुधार ल्याउँछ, जुन बालबालिकाको शारीरिक विकासका लागि अत्यावश्यक छ।
कार्यक्रममा इतिहास
भिटामिन ‘ए’ कार्यक्रम: १९९३ मा ८ जिल्लाबाट सुरु, २००२ मा राष्ट्रिय स्तरमा विस्तार
जुकाको औषधि: १९९९ मा सुरु, २०१० मा राष्ट्रियस्तरमा लागू
बालभिटा वितरण: २००७ देखि सञ्चालनमा
सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा यो कार्यक्रम निःशुल्क रुपमा देशभर सञ्चालन गर्दै आएको छ।