बागलुङ, ६ वैशाख । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय पछिल्ला दिनमा धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य बन्न थालेको छ। सवा लाखभन्दा बढी शालिग्राम एकै स्थानमा सङ्ग्रह गरेर राखिएको यो सङ्ग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड बढ्दो छ।


विशेष डिजाइन गरिएको त्रिशूल आकारको सुरुङभित्र रहेको सङ्ग्रहालयमा ३०० किलोसम्मका विशाल शालिग्रामदेखि साना आकारका शिलासम्म राखिएका छन्। बाघको मुखको आकृतिबाट बनाइएको प्रवेशद्वारले पर्यटकमा थप आकर्षण थपेको छ।
संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यका अनुसार, पछिल्लो एक वर्षमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। उनका अनुसार, गत आर्थिक वर्षमा १ लाख पर्यटक आए पनि चालु वर्षको १० महिनामै १ लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आइसकेका छन्। विशेष गरी दक्षिण भारतबाट धार्मिक पर्यटकहरूको चाप बढी देखिएको छ।

पर्यटकहरू केवल शालिग्राम अवलोकनका लागि मात्र नभई, बागलुङ कालिका, ढोरपाटन लगायत अन्य धार्मिक स्थल घुम्दै सङ्ग्रहालयमा आउने गरेका छन्। सामाजिक सञ्जालमा प्रचारप्रसार बढेसँगै युवापुस्ताले समेत धार्मिक पर्यटनमा चासो देखाउन थालेका छन्।
नवलपरासीकी मेनुका पौडेलले शालिग्राम दर्शनले मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित आएको बताइन्। त्यस्तै गैँडाकोटका तुल्सीराम सापकोटाले भने, “एकै स्थानमा यति धेरै शालिग्राम हेर्न पाउनु अद्भुत अनुभव हो। अन्यत्र कतै यस्तो देखिएको छैन।”