बीरगन्ज, ८ वैशाख जनमत पार्टी पर्साले जिल्लाका प्राथमिकता प्राप्त योजनाहरू आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्न माग गर्दै संघीय सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।


सोमबार पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत अर्थमन्त्रीलाई ज्ञापन बुझाइएको हो। टोलीको नेतृत्व जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए।
ज्ञापनपत्रमा वीरगन्जको नारायणी रंगशालाको पुनर्निर्माण, नारायणी अस्पतालको भौतिक पूर्वाधार विस्तार, सिर्सिया नदीको संरक्षण र कोरिडोर विकास, र वीरगन्ज कृषि औजार सञ्चालन केन्द्रलाई प्राथमिकता दिँदै बजेट विनियोजनको माग गरिएको छ।

साथै, ठोरी क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास, जनताको लागि नयाँ सडक निर्माण, किसानलाई समयमा मल आपूर्ति र सिँचाइका लागि विशेष कार्यक्रम आवश्यक रहेको जनमत पार्टीको माग छ।
जिल्ला अध्यक्ष सर्राफसहित पार्टीका केन्द्रिय सदस्य विद्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन, तथा नेताहरू महादेव शर्मा, बृजेश्वरप्रसाद चौधरी, सन्जय सिंह, अञ्जना गुप्ता, राजुराज गिरी लगायत २० जना भन्दा बढीको टोली ज्ञापन बुझाउन प्रशासन कार्यालय पुगेको थियो।
जनमत पार्टीले संघीय सरकारले स्थानीय आवश्यकतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै विकासको पहुँच जनस्तरसम्म पुर्याउने दाबी गरेको छ।