काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा बयान प्रक्रिया सुरु भएको छ। उनलाई बबरमहलस्थित सरकारी वकिल कार्यालयमा उपस्थित गराई सोमबारदेखि बयान लिइन थालिएको हो।


सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, सोमबार समय अभावका कारण केही मात्रामा बयान लिइएको थियो भने मंगलबारदेखि पुनः विस्तृत रूपमा बयान लिन थालिएको हो। काफ्लेले प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको राजद्रोह, र आपराधिक उपद्रव जस्ता पाँचवटा गम्भीर मुद्दामा बयान लिइँदै गएको बताए।
सरकारी स्रोतका अनुसार, सुरक्षाकर्मीले प्रसाईंविरुद्ध गाडी चलाएर मार्ने नियत देखिएको भन्दै ‘ज्यान मार्ने उद्योग’ अन्तर्गत उजुरी दिएका छन्। सार्वजनिक भिडियोहरूमा प्रसाईंले आफैंले गाडी चलाउँदै प्रहरीमाथि उन्मुख रूपमा अगाडि बढेको दृश्य देखिन्छ। सो क्रममा उनले प्रहरीप्रति अपशब्द समेत प्रयोग गरेको पनि भिडियोमा सुन्न सकिन्छ।

प्रसाईं पहिलोपटक पक्राउ परेपछि राज्यविरुद्धको राजद्रोह र संगठित अपराधमा म्याद लिइएको थियो। अन्य आरोपहरू पछि थपिँदै गएका हुन्।
तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो—कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागेर र पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको पुष्टि भइसकेको छ। घटनामा करिब ८४ जना पक्राउ परिसकेका छन्।
उक्त दिन प्रसाईंको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ अन्तर्गत प्रदर्शन भएको थियो। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले १५ चैतको सभाका लागि अनुमति दिएको थियो। तर प्रदर्शन बेकाबु हुँदा निजी घर, पसल र सवारीसाधनमा तोडफोड र आगजनी भयो।
प्रसाईंलाई भारतको आसामबाट २८ चैतमा पक्राउ गरी २९ चैतमा काठमाडौं ल्याइएको थियो। जिल्ला अदालत काठमाडौंबाट १२ दिनको म्याद लिएर उनी अहिले प्रहरी हिरासतमा छन्। राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायत केही पक्राउ परेका व्यक्तिहरूलाई हाल हिरासत मुक्त गरिए पनि उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको छ।