spot_img

नेपालमा ढेड लाखबढि लागुऔषध प्रयोगकर्ता रहेको अनुमान,गाँजा तस्करको ‘हब’ मधेश

spot_img
spot_img

जनकपुर,०९ बैशाख । गाँजा तस्करको हब बनेको छ, मधेश प्रदेश । बुधबार राति सर्लाहीको चुरे क्षेत्रबाट प्रहरीले २५ वर्षीय सुशील चौधरीलाई २ सय ४४ किलो गाँजासहित नियन्त्रणमा लिएको छ। सिन्धुलीको मरिनबाट ल्याइएको बा २० च १७८२ नम्बरको पिकअप गाडी लालबन्दी–१३ पत्थरकोटमा चेकजाँचका क्रममा पक्राउ परेको थियो।

भुसको बोरा मुनि ४५ पोका गाँजा लुकाएर ल्याउँदै गर्दा चौधरी समातिएका हुन्। अनुसन्धानका क्रममा उनले गाँजाको मुख्य मालिकको नाम भने अझै खुलाएका छैनन्। प्रहरीले घटनालाई सामान्य भनिए पनि मधेश प्रदेशमा यस्ता घटनाहरू दैनिकजसो भइरहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा गाँजाको कारोबार तीव्र रूपमा बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा ८,५४० किलो ९५० ग्राम गाँजा बरामद भएको थियो भने २०८१/८२ मा १२,३९१ किलो ६०६ ग्राम बरामद भएको छ। सर्लाही, सिन्धुली, मकवानपुर, पर्साजस्ता जिल्लामा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको सूचनाका आधारमा प्रहरीले केही फडानी गरेका छन्, तर मुख्य लगानीकर्ता वा सञ्जालका सम्बन्धमा विस्तृत अनुसन्धान अघि बढ्न सकेको छैन।

बुधबार पक्राउ परेका चौधरीको मोबाइलमा विभिन्न व्यक्तिहरूको नाम कोड भाषामा सेभ गरिएको भेटिएको छ। यसैगरी, चैत २६ मा रौतहटको ईशनाथ नगरपालिका–१ मा एक जना गाँजा तस्करलाई हतियारसहित पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उक्त तस्करले रेकी गरेर हतियारको आडमा गाँजा भारत लैजाँदै थियो। सावन गिरी नामक तस्करको साथबाट कटुवा पेस्तोलसहित १ सय ९ किलो गाँजा बरामद भएको थियो।

तराई–मधेशका विभिन्न जिल्लाहरूमा गाँजाको ओसारपसार तीव्र भएपछि पर्सा प्रशासनले चैत २७ देखि तीन महिने सचेतनामूलक अभियान सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानलाई सफल बनाउन पालिकाहरूले बजेट छुट्याउनुपर्ने बताएका छन्। पर्सा जिल्लामा नौ महिनाको अवधिमा ३७ बिघा ४ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ।

गाँजाको ओसारपसार मकवानपुर लगायतका पहाडी जिल्लाबाट हुँदै पर्सा र अन्य सीमावर्ती क्षेत्रबाट भारततर्फ भइरहेको छ। उदाहरणस्वरूप, सिरहा, बार, सप्तरी लगायतका जिल्लामा भारी परिमाणमा गाँजा बरामद भएको छ। गत आर्थिक वर्षमा मात्रै ८७ जना तस्कर पक्राउ परेका थिए भने चालु वर्षमा हालसम्म ५,३६२ किलो गाँजा बरामद भइसकेको छ। सप्तरी सबैभन्दा बढी प्रभावित जिल्ला देखिएको छ, जहाँ गत वर्ष १,६३१ किलो र चालु वर्षमा ३,००६ किलो गाँजा बरामद भएको छ।

तस्करीका शैलीहरू पनि फेरिँदै गएका छन्। बस वा साना सवारी जाँच कडाइ भएपछि तस्करले तेल ट्यांकर र एम्बुलेन्समार्फत गाँजा ओसार्ने प्रयास गरेका छन्। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले चुरे क्षेत्रबाट आउने गाँजा र अफिमको प्रवाह बढेको स्वीकारेका छन्। उनका अनुसार गाँजाको वैधीकरणको बहससँगै केही व्यक्तिहरूले खेती गर्न थालेका छन्।

डीआईजी आचार्यले गाँजा तस्करीमा संलग्न व्यक्तिहरूले मुख्य लगानीकर्ताको नाम नबताउने, बयानमा झुटो बोल्ने गरेको बताएका छन्। मकवानपुर, धादिङ, सिन्धुलीजस्ता चुरेक्षेत्रबाट गाँजा, अफिम भारत तर्फ लैजाने संगठित सञ्जाल सक्रिय रहेको उनले बताए। सर्लाहीको लालबन्दीबाट गत जेठ २३ गते १६ क्विन्टल गाँजा र गाँजा च्याप्ने मेसिनसहित ठूलो परिमाणमा बरामद गरिएको थियो।

नेपालमा झन्डै १ लाख ५० हजार लागुऔषध प्रयोगकर्ता रहेको अनुमान लागुऔषध नियन्त्रण ब्युरोको छ, जसमा गाँजाको प्रयोग अत्यधिक छ। हाल गाँजा तस्करी रोक्न सुरक्षाकर्मीहरू थप सक्रिय बनाइएका छन् र तस्करीको शैली अनुगमन गरेर नियन्त्रण प्रयास भइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय