नवलपरासी,१० वैशाख । सुख्खा पहिरोका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने खण्ड आज बिहानदेखि दुइतर्फी रुपमा सञ्चालनमा आएको छ।


बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिक मंगलबार बिहान ११:१५ बजे सडकको बायाँपट्टि सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोले सवारी आवागमन रोकिएपछि सुरक्षाकर्मी र सम्बन्धित निकायले तत्काल सडक खुलाउने काम थालेका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, पहिरो खसेपछि मंगलबार दिउँसो नै सडकलाई एकतर्फी रुपमा सञ्चालन गराइएको थियो। त्यसपछि मर्मत र सफाइ कार्य सम्पन्न गरेपछि बुधबार बिहानदेखि सडक पूर्ण रुपमा दुइतर्फी सञ्चालनमा आएको हो।

पहिरो खसेको स्थानमा एकातर्फ कल्भर्ड निर्माण भईरहेको र अर्कोतर्फबाट मात्र सवारी चलिरहेको अवस्थामा पहिरो झरेको थियो। अब भने दुबै दिशाबाट सवारी साधन सञ्चालन हुन थालेपछि यात्रु तथा चालकलाई सहज भएको छ।
प्रहरीले यात्रा गर्नेहरूलाई सुरक्षित रूपमा सवारी चलाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।