काठमाडौँ, १० वैशाख । विश्वकै दुर्लभ र संवेदनशील प्रजातिका रूपमा चिनिएको हिउँचितुवाको सन्दर्भमा नेपालले ऐतिहासिक प्रगति हासिल गरेको छ। हालै सार्वजनिक नयाँ तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ पुगेको छ।


अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) का अनुसार, विश्वको जम्मा दुई प्रतिशत बासस्थान रहेको नेपालमा हिउँचितुवाको १० प्रतिशत जनसंख्या पाइन्छ। नेपालका उच्च हिमाली क्षेत्रका ३० हजार ५ सय वर्गकिलोमिटर क्षेत्रलाई यसको बासस्थान मानिन्छ।
विश्वस्तरीय संस्थाहरूको सहकार्यमा गरिएको अनुसन्धानअनुसार, चीनमा सबैभन्दा धेरै हिउँचितुवा (कम्तीमा २,०००), त्यसपछि मङ्गोलिया (९५३), भारत (७१८), नेपाल (३९७) र भुटान (१३४) मा रहेका छन्।

नेपालको तथ्याङ्क मूल्याङ्कन २०१५ देखि २०२४ सम्मको अवधिमा सरकार, अनुसन्धानकर्ता र संरक्षण संस्थाहरूको सहयोगमा गरिएको हो। अत्याधुनिक क्यामेरा ट्रयाप र डीएनए विश्लेषण प्रविधिको प्रयोग गरी सातवटा अध्ययन क्षेत्रहरूबाट तथ्याङ्क संकलन गरिएको हो।
हिउँचितुवाको संरक्षणलाई संस्थागत रूपमा अघि बढाउन वन मन्त्रालयले ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ सार्वजनिक गरेको छ। योजनामा बासस्थान सुधार, मानव-हिउँचितुवा द्वन्द्व न्यूनीकरण, चोरी सिकारी नियन्त्रण, तथा अन्तरराष्ट्रिय सहयोग सुदृढीकरण जस्ता लक्ष्यहरू समावेश छन्।
छ वर्षे कार्ययोजनामा १ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। संरक्षणमा स्थानीय समुदायको सहभागिता, क्षमता विकास, र साझेदारीलाई प्राथमिकता दिइने कार्ययोजनामा उल्लेख छ।
हिउँचितुवाको ६० प्रतिशतभन्दा बढी बासस्थान संरक्षित क्षेत्र बाहिर परेकोले बासस्थान अतिक्रमण, द्वन्द्व, पासो थाप्ने प्रवृत्ति, विष प्रयोग, जनशक्ति र बजेटको अभावजस्ता चुनौतीहरू अझै कायमै छन्।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङका अनुसार, “यो तथ्याङ्कले नेपालमा हिउँचितुवा संरक्षणको दिशामा ऐतिहासिक प्रगति भएको संकेत गर्छ। साथै, दीर्घकालीन संरक्षण रणनीति तयार पार्न महत्वपूर्ण आधार बनाउनेछ।”