काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल र जारको पानीको प्रयोग स्थायी रूपमा बन्द गरिने घोषणा गरेका छन्। बुधबार सिंहदरबारभित्र मेलम्ची खानेपानी वितरणका लागि निर्माण भइरहेको पूर्वाधारको स्थलगत अनुगमनपछि मन्त्री यादवले यस्तो जानकारी दिएका हुन्।


उनका अनुसार सिंहदरबारमा धेरै वर्षदेखि प्रयोग हुँदै आएको बोतल र जारको पानी अब मेलम्चीको शुद्ध खानेपानीले विस्थापित गरिनेछ। “हामी सिंहदरबारमा शुद्ध, सुरक्षित र पहुँचयोग्य खानेपानीको आपूर्ति गर्नेतर्फ दृढताका साथ अघि बढिरहेका छौं,” मन्त्री यादवले भने, “मेलम्चीको पानी यही वैशाखको अन्तिम सातासम्म वितरण सुरु हुन्छ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा मेलम्चीको पानी पुर्याउने लक्ष्यका साथ बुधबारको अनुगमनमा मन्त्री यादवसहित खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल र अन्य अधिकारीहरूको सहभागिता थियो।

मन्त्री यादवले मेलम्चीको पानी स्थायी रूपमा सञ्चालनमा आएपछि निजी कम्पनीहरूको बोतल र जार पानीको निर्भरता हटाइने र स्वच्छ पानी सबै कर्मचारीको पहुँचमा पुर्याइने बताए। उनले भने, “सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक हो, यसलाई अझ प्रभावकारी बनाउन हामी सबैको साझा प्रयास आवश्यक छ।”
उनले अनुगमनमा सहकार्य गरेका सबैप्रति आभार व्यक्त गर्दै मेलम्ची खानेपानी योजनालाई यथाशीघ्र सफल कार्यान्वयनमा लैजाने प्रतिबद्धता दोहोर्याए।