काठमाडौँ,१० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नयाँ मितिबाट सुरु गर्ने निर्णय गर्दै संशोधित समयतालिका सार्वजनिक गरेको छ।


यसअघि वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन हुने भनिए पनि बोर्डले मंगलबार अचानक पूर्वनिर्धारित तालिका स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरू अन्योलमा परेका थिए।
बुधबार बोर्डले नयाँ तालिका सार्वजनिक गर्दै अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुने जानकारी दिएको हो। बोर्डका अनुसार परीक्षा बिहान ८:०० बजेबाट सुरु हुनेछ र तालिका अनुसार क्रमिक रूपमा सञ्चालन गरिनेछ।

परीक्षा स्थगनको कारणबारे बोर्डले स्पष्ट विवरण नदिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारण देखाएर मिति सारिएको बताइएको छ। अब सार्वजनिक भएको नयाँ तालिका अनुसार सबै विषयको परीक्षा पुनः निर्धारित मितिमा सञ्चालन गरिनेछ।
राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले सबै विद्यार्थीलाई नयाँ तालिका अनुसार तयारी गर्न अनुरोध गरेका छन् र परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइएको जनाएका छन्।