हेटाैडा, ११ वैशाख । मकवानपुरमा गोरु र गाई तस्करीका घटना दोहोरिँदै गइरहेका छन्। हेटौंडा उपमहानगरपालिका–३ बसामाडीबाट गए राति २२ वटा गोरुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवनबाट हेटौंडा आउँदै गरेको ट्रक (बा.प्र.०३-००१ख ३४११) मा भेटनरी प्रमाणपत्रबिनाका गोरु फेला परेपछि ट्रक चालक गणेश मगर (सिद्धलेक गाउँपालिका–२, धादिङ), सुरज परियार (अजिरकोट–४, गोरखा), कुशल परियार र जीतेन्द्र यादव (भोक्राहा नगरसिंह–३, सुनसरी) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
यो घटनासँगै पछिल्लो केही महिनामा गोरु तस्करीका थुप्रै घटना सार्वजनिक भएका छन्।
चैत २० गते सशस्त्र प्रहरी र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले हेटौंडा–१५ को नयाँबस्तीबाट गोरु र गाईसहितको मिनीट्रक नियन्त्रणमा लिएको थियो।
त्यस्तै, फागुनमा पथलैयाबाट २५ वटा गोरुसहित अर्को ट्रक नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार यस्तो तस्करी रोक्न थप निगरानी र कडा कारबाही आवश्यक छ। सीमावर्ती क्षेत्रमा सुरक्षालाई अझ बलियो बनाउने प्रयास भइरहेको जनाएको छ।



