काठमाडौं,१६ वैशाख । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मौसममा केही परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा वा आंशिक बदली हुने अनुमान गरिएको छ।


विभागले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, यी प्रदेशका हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मंगलबार रातिको मौसम पनि यस्तै रहनेछ। कोशी र मधेस प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

सावधानीका लागि मौसम विभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।