काठमाडौँ,१६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेका थिए, तर अन्तिम समयमा आएर कार्यक्रम रोकिएको हो।


शाक्यको सचिवालयले अर्को सूचना नआएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त श्वेतपत्र स्वीकृत गरिसकेको थियो।
सञ्चालक समितिका एक सदस्यका अनुसार श्वेतपत्रमा प्रस्तुत तथ्यांक पूर्वनिर्धारितभन्दा फरक देखिएपछि त्यसलाई मिलाएर मात्र सार्वजनिक गर्ने निर्णय गरिएको हो। श्वेतपत्रमा मुलुकको विद्युतीकरण ९१.४१ प्रतिशत रहेको उल्लेख छ, जबकि पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ९९ प्रतिशत विद्युतीकरण भइसकेको दाबी गरेका थिए।

यस्तै, प्राधिकरणले ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको जनाएको छ, जबकि घिसिङले सामुदायिक उपभोक्तासहित ५९ लाख ३५ हजार पुगेको बताएका थिए। प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले बोर्डको नयाँ निर्देशन आएपछि श्वेतपत्र परिमार्जन गर्नुपर्ने भएकाले कार्यक्रम रोकिएको जानकारी दिए।