काठमाडौँ,१६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक सांसद ज्ञानबहादुर शाहीले शिक्षा ऐनसमेत ल्याउन नसक्ने सरकारबाट देश संचालनको अपेक्षा गर्नु दिवासपना जस्तै भएको टिप्पणी गरेका छन्।


मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आन्दोलन र युद्धका नाममा विद्यालय बन्द गर्ने संस्कारले गरीब घरका छोराछोरीहरू शिक्षाबाट वञ्चित हुँदै आएको बताए। “सरकारी विद्यालय गरिबका छोराछोरीका लागि हो,” उनले भने, “तर आज उनीहरू पढ्नबाट वञ्चित छन्, जबकि धनीका छोराछोरी महंगो निजी विद्यालयमा आरामसँग पढिरहेका छन्।”
शाहीले पटक–पटक शासन व्यवस्था र सरकार फेरिँदा पनि शिक्षा नीति जस्ताको तस्तै रहेकाले त्यसैबाट देश अगाडि नबढ्ने स्पष्ट पारे। “शिक्षा नीति परिवर्तन नगरी देश समृद्ध बन्न सक्दैन,” उनले जोड दिए।

उनले पार्टीका नाममा गठन भएका शिक्षक, विद्यार्थी र चिकित्सकका भातृ संगठनहरू खारेज गर्नुपर्ने मागसमेत गरे। साथै, सरकारी कर्मचारीले राजनीति होइन, सेवा प्रवाहमा केन्द्रीत हुनुपर्ने धारणा राखे।