काठमाडौँ,२४ वैशाख । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता देखिएको भन्दै नेपाल राष्ट्र बैंकले फेरि ३५ अर्ब रुपैयाँ बजारबाट झिक्ने तयारी गरेको छ। बुधबारका लागि निर्धारण गरिएको यो रकम २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत झिक्न लागिएको हो।


राष्ट्र बैंकले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। बजारमा आवश्यकता भन्दा बढी तरलता हुँदा त्यसले वित्तीय स्थायित्वमा असर गर्न सक्ने भन्दै त्यसको व्यवस्थापन गर्न यस्तो कदम चालिएको जनाइएको छ।
करीब डेढ वर्षयता राष्ट्र बैंकले हरेक हप्ता आइतबार र बुधबार नियमित रूपमा निक्षेप संकलनमार्फत बजारबाट पैसा झिक्दै आएको छ। यो प्रक्रिया निरन्तरताका साथ अघि बढिरहेको छ।

निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। रकमको भाग लगाउँदा बाँकी नछोडिने गरी व्यवस्था गरिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ।