बारा,२५ बैशाख । हालै निर्माण सम्पन्न भएको जीतपुरसिमरा–ठोरी सडकखण्डमा सडकको बीचमै विद्युत पोलका कारण सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।


जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजारबाट पर्साको ठोरीतर्फ जाने सडकखण्डमा ढलानको काम सम्पन्न भए पनि बीच भागमा रहेका विद्युत पोलहरू यथावत् राखिएको पाइन्छ। यिनै पोलहरू सडक दुर्घटनाको निम्तो बन्नसक्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय एक बासिन्दाले भने, “सडकको बीच भागमै पोल ठडिएको छ, जुन कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्छ। दैनिक सयौं मोटरसाइकल, अटो र साना गाडीहरू यहाँबाट गुड्छन्, तर पोलले सवारी आवागमनमा ठुलो समस्या बनाएको छ।”

सडक विस्तार र मर्मतका क्रममा नेपाल विद्युत प्राधिकरण, स्थानीय सरकार र सडक डिभिजन कार्यालयबीच आवश्यक समन्वयको अभावका कारण यस्तो अवस्था उत्पन्न भएको स्थानीयको भनाइ छ।
स्थानीयहरूले सार्वजनिक सुरक्षालाई ख्याल गर्दै विद्युत पोल तत्काल हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले चेतावनी दिएका छन् कि जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा यति लापरवाही हुनु गम्भीर लापरबाहीको संकेत हो र यसप्रति चुप लागेर बस्न सकिँदैन।