काठमाडौं,२६ वैशाख । प्रतिनिधिसभाका सांसदहरूले किसानका लागि मलखाद समयमै उपलब्ध गराउन र बाढीपीडितलाई अझै नपुगेको राहत तत्काल दिन सरकारको ध्यानाकर्षण गराएका छन्।


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले बाढी, मलखाद, सिँचाइ, अधुरा पुल र अन्य जनसरोकारका विषयमा सरकारप्रति गम्भीर प्रश्न उठाएका हुन्।
सांसद सूर्यमान तामाङ दोङले काभ्रेको पनौती, बेथानचोक, लोसी, तिमाल र सिन्धुलीको कुशेश्वर लगायतका क्षेत्रमा गएको बाढी र पहिरोका पीडित अझैसम्म राहतबाट वञ्चित रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराए। उनले बजेट निर्माण पहुँचका आधारमा नभई आवश्यकता हेरेर गर्नुपर्ने माग पनि गरे।

सांसद सूर्यबहादुर थापाले देशभर अधुरा रहेका पक्की पुल निर्माणका लागि बजेट सुनिश्चित गर्न माग गरे। उनले बर्दियाको नगदीघाटस्थित पुलको उदाहरण दिँदै स्रोत भए पनि अझै ठेक्का प्रक्रिया अगाडि नबढेको उल्लेख गरे।
सांसद हरि ढकालले नेपाल राष्ट्र बैंकको नेतृत्व नियुक्तिमा राजनीतिक हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरे। यस्तै सांसद हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकद्वारा सार्वजनिक गरिएका आर्थिक विवरणबीच विरोधाभास देखिएको भन्दै त्यसले जनस्तरमा भ्रम फैलिएको बताए। उनले संसदमार्फत प्राधिकरणको समग्र आर्थिक अवस्थाबारे स्पष्ट जानकारी दिन माग गरे।
सांसद हेमराज राईले विपद् व्यवस्थापन योजनाअन्तर्गत बनाइएका घरका लागि संघीय सरकारले दिनुपर्ने रकम अझै नपुगेको भन्दै तत्काल उपलब्ध गराउन आग्रह गरे। सांसद हृदयराम थानी र ज्ञानु बस्नेत सुवेदीले समेत सरकारको ध्यान देशका समसामयिक समस्यातर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए।