काठमाडौं,२७ वैशाख । हाल देशभर मौसममा तीन प्रकारका वायुगत प्रभाव सक्रिय छन्: पश्चिमी वायु, स्थानीय वायु, र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा। यी वायुगत प्रणालीहरूको संयुक्त प्रभावका कारण आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली मौसम रहने छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ, केही स्थानमा चट्याङसमेत परेको छ।
दिउँसो कोशी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र अन्य पहाडी भेगहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङको सम्भावना छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात पनि हुनसक्नेछ। साथै, मधेस र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना छ।

रातिको समयमा पनि देशका पहाडी भूभागमा आंशिक बदली मौसम रहनेछ भने एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना कायमै रहनेछ।
मौसमका यिनै अवस्थालाई ध्यानमा राख्दै महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात (सडक र हवाई दुवै) प्रभावित हुनसक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।