बीरगन्ज,२७ वैशाख । भारत र पाकिस्तानबीच बढ्दो तनाव र पहलगाममा भएको आतंकवादी आक्रमणपछि नेपाल सरकारले भारतसँगको सीमा नाकाबाट हुने आवतजावतमा कडाइ गरेको छ। गृह मन्त्रालयले नयाँ निर्देशन जारी गर्दै नेपाल–भारत सीमा पार गर्न चाहने सबै यात्रुहरूलाई अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने व्यवस्था लागू गरेको हो।


नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग तथा सीमावर्ती जिल्ला प्रशासन कार्यालयहरूलाई जारी परिपत्रअनुसार अब सीमाबाट आउने–जाने यात्रुको नाम, गन्तव्य, उद्देश्य लगायत सम्पूर्ण विवरण अभिलेख राखिनेछ। सुरक्षा निकायले सीमा क्षेत्रमा थप गस्ती बढाएका छन् भने सशस्त्र प्रहरीका २५० बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरीका ६० भन्दा बढी सीमा युनिट सक्रिय गरिएका छन्।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पछिल्लो अन्तर्राष्ट्रिय घटनाक्रमले नेपाललाई पनि असर पुर्याउन सक्ने भन्दै सावधानी अपनाइएको बताए। प्रधानमन्त्रीसहितको उच्चस्तरीय सुरक्षा बैठक र विभिन्न निकायका समन्वयपछि यो निर्णय गरिएको हो।

वैशाख ९ मा भारतको जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि भारत–पाकिस्तानबीच तनाव चर्किएको हो। सो हमलाको जिम्मा ‘द रेसिस्टेन्स फ्रन्ट’ (TRF) नामक संगठनले लिएको छ, जसलाई पाकिस्तानको लश्कर–ए–तोयबासँग जोडिएको बताइएको छ।
त्यसयता भारत र पाकिस्तानबीच ड्रोन र लडाकु विमान प्रयोगसहितको आक्रमण–प्रत्याक्रमण चलिरहेको छ, जसको प्रभाव नेपालसम्म पर्न सक्ने मूल्यांकन गर्दै नेपाल सरकारले विशेष सुरक्षा सतर्कता अपनाएको हो।
नेपालसँग भारतको १,८८० किलोमिटर खुला सीमा भएकाले यसअघि पनि घुसपैठ, अवैध आवागमन र शरणार्थी समस्याहरू उठ्ने गरेका थिए। विगतमा म्यानमारबाट खेदिएका रोहिंग्या शरणार्थी, अफगानिस्तानबाट पलायन भएका नागरिक र भारतमा नक्कली कागजात बनाएका समूहहरू नेपाल छिरेका थिए।
यस्ता जोखिमलाई ध्यानमा राखेर यसपटक सरकारले परिचयपत्र अनिवार्य गर्दै कडाइका साथ सीमा नियमन सुरु गरेको हो।
भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले विशेष सावधानी अपनाउन अनुरोध गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ।
दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीलाई सजग रहन, सरकारी सुरक्षा निर्देशिका पालन गर्न र आपतकालीन अवस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। उता, पाकिस्तानस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपाली विद्यार्थी र नागरिकसँग निरन्तर सम्पर्कमा रही सुरक्षा सुनिश्चित गरिरहेको जनाएको छ।