काठमाडौं,२७ वैशाख । भारत र पाकिस्तानबीच चर्किएको तनावका बीच नेपाल आयल निगमले देशभर इन्धन आपूर्ति र वितरणमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार इन्धन आपूर्तिको सञ्जाल सामान्यरूपमै सञ्चालनमा छ, र अहिले सम्म कुनै अवरोध आएको छैन।


“हामीले मागेअनुसार नै इन्डियन आयल कर्पोरेसन (IOC) ले पेट्रोल, डिजेल र ग्यास पठाइरहेको छ,” प्रवक्ता ठाकुरले बताए। नागरिकहरूले अफवाहमा नपरिन र आत्तिएर अत्यधिक खरिद नगर्न आग्रह गर्दै उनले देशभर इन्धनको पर्याप्त भण्डारण रहेको पनि जानकारी दिए।
भारतको इन्धन आपूर्तिकर्ता संस्था आईओसीले समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै आपूर्ति शृंखला नियमित रहेको र कुनै अभाव नहुने आश्वासन दिएको छ। आईओसीको भनाइ अनुसार, “देशभर पर्याप्त मात्रामा पेट्रोल, डिजेल र एलपीजी ग्यासको भण्डारण छ, कृपया आत्तिएर अनावश्यक रूपमा इन्धन खरिद नगर्नुहोस्।”

आयल निगमले पनि देशभरका डिपोहरूलाई नियमित रूपमा आपूर्ति गरिरहेको जनाएको छ। पछिल्लो समय भारत–पाकिस्तानको द्वन्द्वका कारण जनस्तरमा इन्धन अभावको आशंका देखिए पनि सरकारी पक्षले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।