जनकपुर,२७ वैशाख । सिरहाको गोलबजार नगरपालिका–७ स्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि शिक्षकले गरेको निर्घात कुटपिटको घटना सार्वजनिक भएको छ। एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत १३ वर्षीय अविनाश यादवलाई शारीरिक रूपमा आक्रोशपूर्वक कुटपिट गरेका हुन्।


नरहा गाउँपालिका–३ खोरियाका सुरेश यादवका छोरा अविनाशको अनुहार, पिठ्युँ, तिघ्रालगायत शरीरका विभिन्न भागमा निलडाम देखिएको छ। कुटपिटपछि उनलाई तत्काल गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ।
पीडितका पिता सुरेश यादवका अनुसार छोराले शिक्षकसँग पढाइको गुणस्तरप्रति गुनासो गरेपछि गुप्ता रिसाउँदै कुटपिटमा उत्रिएका थिए। “सामान्य गुनासो गर्दा पनि यस्तो स्तरको हिंसा हुनु निन्दनीय छ,” उनले भने।

उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले शिक्षक गुप्तालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक गोविन्द साहका अनुसार शिक्षकविरुद्ध आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ।
घटनापछि विद्यालय प्रशासनको भूमिकाबारे प्रश्न उठेको छ। विद्यालय सञ्चालक विजय महतोलाई सम्पर्क गर्न खोज्दा प्रतिक्रिया लिन सकिएको छैन।
विद्यालयभित्र बालबालिकामाथि हुने हिंसाका घटनाहरूले शैक्षिक वातावरणमै प्रश्न उठाइरहेका बेला सिरहाको यो घटनाले पुनः शून्य सहनशीलताको आवश्यकतालाई औंल्याएको छ।