बीरगन्ज,०८ जेठ । खाना पकाउने क्रममा तेल ठानेर झुक्किएर डिजेल प्रयोग गर्दा आगलागी भएको छ। हेटौंडा उपमहानगरपालिका–८, कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको उक्त घटनामा एक १३ वर्षीया बालिका र एक २५ वर्षीया महिला घाइते भएका छन्।
घटनाका क्रममा असिया खातुन नामकी बालिकाले मासु पकाउने क्रममा तेलको सट्टा डिजेल हाल्दा आगो सल्किएको मकवानपुर प्रहरीले जनाएको छ। आगलागीमा भारत बिहारको मोतिहारीस्थित आदापुरग्राम निवासी अफ्रिदा खातुनसमेत घाइते भएकी छन्।
प्रहरीका अनुसार असियाको अनुहार, हात, पिठिउँ र खुट्टामा जलेको छ भने अफ्रिदाको बायाँ कान, गाला र हातमा चोट लागेको छ। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
घटनास्थलमा प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा ल्याएको थियो। आगलागीबाट घरको काठको ढोका, चामल, धान र लुगा गरी करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
विशेषज्ञहरूका अनुसार डिजेल अत्यन्त ज्वलनशील पदार्थ भएकाले यसलाई भान्सामा प्रयोग गर्नु अत्यन्तै खतरनाक हुन्छ। तेल र डिजेल छुट्याउन नसक्नु स्वयं ठूलो जोखिम हो।