काठमाडाैं,०८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने प्रयासको विरोधमा नौ बुँदे ज्ञापनपत्र बुझाएको छ।
बुधबार साँझ कमिटी प्रतिनिधिमण्डलले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटी ज्ञापनपत्र बुझाएको हो। कमिटीका सचिव दर्शनकुमार नेपालीका अनुसार यो ज्ञापनपत्रमा ऊर्जा क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव हटाउने, प्राधिकरणमा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य गर्ने र वर्तमानमा भइरहेको अघोषित लोडसेडिङ तत्काल बन्द गर्नुपर्ने लगायतका मागहरू समेटिएका छन्।
ज्ञापनपत्रमा बक्यौता महसुल असुलीको नाममा ऋण लिने कार्य तुरुन्त रोक्नुपर्ने, निजीकरणलाई टेवा दिने खालका नीति तथा नियमहरू खारेज गर्नुपर्ने र जनताको पहुँचमा सस्तो, भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरिएको छ।