काठमाडाैं,०८ जेठ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको रिहाइको मागसहित सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज बिहीबार सुनुवाइ हुँदैछ।
लामिछानेकी पत्नी निकिता पौडेलले आफ्ना पति गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन्। मंगलबारबाट सुरु भएको सुनुवाइ बुधबार संवैधानिक इजलास बस्ने दिन परेकाले स्थगित भएको थियो।
अब उक्त मुद्दामा न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बिहीबार सुनुवाइलाई निरन्तरता दिनेछ।
हाल लामिछाने पुर्पक्षका लागि रुपन्देहीस्थित भैरहवा कारागारमा थुनामा छन्। पौडेलको निवेदनमा लामिछानेलाई अदालतको आदेश वा कानुनी प्रक्रिया विना थुनामा राखिएको दाबी गरिएको छ।