जनकपुर,२३ जेठ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा निर्माण गरिएको नव निर्मित ‘मैथिली भवन’को भव्य समारोहबीच उद्घाटन गरिएको छ। शुक्रबार सम्पन्न उक्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मैथिली भाषा र संस्कृति संरक्षणमा बल दिनुपर्ने आवश्यकता औंल्याए।


७ करोड ५० लाख रुपैयाँको लागतमा मधेश सरकारको सहयोगमा मैथिली विकास कोषमार्फत निर्मित यो भवनलाई मैथिली समुदायको ऐतिहासिक पहिचानको रूपमा लिइएको छ। देउवाले समारोहमा सम्बोधन गर्दै मैथिली भाषा, साहित्य, कला र संस्कृतिको समृद्ध इतिहासको चर्चा गर्दै भने, “यो भवनले न केवल जनकपुरधामको गौरव बढाउनेछ, तर समग्र राष्ट्रलाई पनि विविधता र सांस्कृतिक समावेशीताको सन्देश दिनेछ।”
उनले यस्तो परियोजनाले भाषिक र सांस्कृतिक समावेशीकरणको भावना थप सुदृढ बनाउने धारणा राखे। “राष्ट्रिय एकताको आधार भनेकै सांस्कृतिक विविधताको सम्मान हो,” देउवाले जोड दिए।

उद्घाटन कार्यक्रममा विभिन्न दलका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, साहित्यकार, संस्कृतिकर्मी र नागरिकहरूको उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले यो भवनलाई मैथिली भाषा र संस्कृतिको जगेर्ना, अनुसन्धान, प्रशिक्षण र प्रचारप्रसारको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
मैथिली विकास कोषका पदाधिकारीहरूले यो भवन समुदायको दीर्घकालीन सपना साकार बनाउने दिशामा लिएको एक महत्वपूर्ण कदम भएको बताएका छन्। उनीहरूले यस आयोजनामा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गर्दै भविष्यमा भवनलाई संस्कृतिको धरोहरका रूपमा सुदृढ बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।