जनकपुर,२३ जेठ । मधेस प्रदेशको आर्थिक वर्ष ०८२/०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले सरकारको नीति तथा कार्यक्रम औपचारिक रूपमा सभामा पेस गरिन्।


सञ्चालन कार्यतालिका अनुसार कार्यक्रम आज अपराह्न ४ बजे सुरु हुने भए पनि करिब ४५ मिनेट ढिलो गर्दै बैठक प्रारम्भ भएको थियो। सरकारले यसपटकको नीति तथा कार्यक्रममार्फत केही महत्वकांक्षी योजना अघि सार्ने तयारी गरेको छ।
नीति आयोग मधेसका उपाध्यक्ष डा. सोहन साहका अनुसार यस वर्षको नीति तथा कार्यक्रम “इन्टर–कनेक्टेड वे” को अवधारणामा आधारित रहनेछ। उनले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रमहरू तयार पारिएको जानकारी दिए।

डा. साहका अनुसार रोजगारी सिर्जना, आन्तरिक उत्पादन वृद्धिलाई टेवा पुर्याउने, र कृषि प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित योजनाहरू ल्याइएका छन्। यसले युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सरकारले विगतका भन्दा फरक ढंगले व्यावसायिक दृष्टिकोणबाट नीतिगत पहलहरू ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।