सुनसरी,२४ जेठ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ९ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले शुक्रबार राति उनीहरूलाई पक्राउ गरेको हो।


सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार भारतको बिरपुर बजारबाट पैदल र स्कुटरमार्फत नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको सूचनाका आधारमा विशेष चेकजाँच गर्दा ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–५ का अजय चौधरी रहेका छन्, जसको साथबाट २.४७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। त्यसैगरी कोशी गाउँपालिका–१ का हिमाल कुमार मण्डल र करण कुमार मण्डलको साथबाट ३.२४ ग्राम, कोशी गाउँपालिका–२ का दयानन्द कुमार यादवबाट १.४० ग्राम लागुऔषध फेला परेको छ।

धरान उपमहानगरपालिका–१७ का विवेक विश्वकर्माको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद भएको छ भने स्कुटरमा भारतबाट नेपाल आउँदै गरेका धरान–१७ का संगम राई र धरान–१९ का सिमसन राईसँग २.२३ ग्राम लागुऔषध फेला परेको छ।
त्यस्तै, स्कुटरमै सवार बराहक्षेत्र नगरपालिका–७ का कौशल कालिकोटेबाट ६.५३ ग्राम र याकुब राईबाट ४.७९ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए। प्रहरीले यसलाई सीमा क्षेत्रमा सक्रिय लागुऔषध तस्करहरूको नेटवर्कमाथि ठूलो प्रहारको रूपमा लिएको छ।