काठमाडौँ,२५ जेठ । नागढुंगा–नौबिसे सडकखण्ड आगामी पाँच दिनका लागि पुनः बन्द हुने भएको छ। त्रिभुवन राजपथअन्तर्गत पर्ने यो सडकमा निर्माण कार्यका कारण जेठ २६ गतेदेखि ३० गतेसम्म दैनिक पाँच घण्टा सवारी आवागमन रोकिने भएको हो।


नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले जारी गरेको सूचनाअनुसार निर्माण कार्यलाई तीव्रता दिनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ।
यस अवधिमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोष्टमा रोकिनेछ भने नौबिसेबाट काठमाडौँ आउने सवारी खानीखोला बजारमा रोकिनेछन्। ती सवारीसाधनहरू दिउँसो ३ बजेपछि मात्र गन्तव्यतर्फ अगाडि बढ्न दिइनेछ।

सवारीचालकलाई बन्द अवधिमा लेन अनुशासन पालना गर्न र लाममा रहेर अनावश्यक ओभरटेक नगर्न पनि आयोजनाले अनुरोध गरेको छ। दमकल, एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारीसाधन भने सधैंझैं सञ्चालनमा रहनेछन्।
यात्रुहरूलाई असुविधा नहोस् भन्नका लागि वैकल्पिक मार्गका रूपमा साना तथा मझौला सवारीका लागि सीतापाइला–रामकोट–धार्के मार्ग र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न सुझाव दिइएको छ।
यसअघि जेठ १० देखि २५ गतेसम्म पनि निर्माणका लागि यही सडक खण्डमा दैनिक केही घण्टा सवारी रोकिएको थियो।