जनकपुर,२६ जेठ । मधेस प्रदेशमा चालु आर्थिक वर्षमा मात्र विभिन्न प्राकृतिक तथा मानवीय विपद्माका कारण ४२२ जनाले ज्यान गुमाएका छन्। बर्दिबासमा आइतबार आयोजित विपद् सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार, बाढी, डुबान, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जनावरको आक्रमणजस्ता घटनामा ती व्यक्तिहरूको मृत्यु भएको हो।


प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार, साना-ठूला गरी वर्षभरिमा २,२५८ वटा विपद्का घटना घटेका छन्, जसमा ९ सयभन्दा बढी घाइते भएका छन्। यिनै घटनाहरूबाट ५६ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।
प्रमुख जिल्ला अधिकारीहरूका अनुसार, मधेसका ८ वटै जिल्लामा करिब २ लाख २८ हजारभन्दा बढी सर्वसाधारण बर्खाजन्य विपद्को उच्च जोखिममा छन्। यो जनसंख्या करिब ५२ हजारभन्दा बढी परिवारमा सीमित हुने अनुमान गरिएको छ।

महोत्तरी, धनुषा र सर्लाही जिल्लालाई समेटेर आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले विपद् व्यवस्थापनमा लापरबाही, अटेरीपन र विकास योजनामा विपद् संवेदनशीलता नअपनाएको भन्दै गुनासो गरे। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मधेसमा बर्खा सुरु हुनेबित्तिकै डुबान र कटानको समस्या तीव्र हुने गरेको उल्लेख गरे। सडक निर्माणका क्रममा अवरोध गरिएका ढल तथा पानीको निकास, अनियन्त्रित रूपमा राखिने इँटा, ढुंगा, बालुवा र फलामे सामग्रीहरू समस्याका कारक रहेको बताए।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका कमजोर रहेको भन्दै अधिकांश सहभागीहरूले प्रारम्भिक अध्ययन, नक्साङ्कन र आवश्यक पूर्वतयारी अभाव रहेको बताएका थिए।
कार्यक्रममा बोल्दै मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले अघिल्ला वर्षमा तयारी नहुनु स्वीकार गर्दै यसपालि भने पूर्वतयारीका काम सुरु गरिएको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विपद् व्यवस्थापन, प्रतिकार्य र उद्धार कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए।