रौतहट, २६ जेठ। रौतहटको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिनाभन्दा बढी भइसक्दा पनि पीडित परिवारले न राहत पाएका छन्, न क्षतिपूर्ति।


मृतकका परिवार र स्थानीय अगुवाहरूले आइतबार पत्रकार सम्मेलन गरेर दोषीमाथि कारबाही गर्न राज्य संयन्त्र उदासीन देखिएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा दबाउने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।
गत वैशाख २४ गते, सशस्त्र प्रहरी बलको दुधियाभार बेस क्याम्पमा कार्यरत हवल्दार सुवास सिंहले भारतीय नम्बर प्लेट (BR 30 7936) को मोटरसाइकल चिनी तस्करको पछ्याइका क्रममा प्रयोग गरिरहेका बेला अनुठा यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। वीरगञ्जको गण्डक अस्पतालमा उपचारका क्रममा केही दिनमै उनको ज्यान गयो।

त्यही दुर्घटनामा मोटरसाइकलमा सवार राम जिनिस साह पनि घाइते भएका थिए, जो अहिले बैशाखीको सहारामा जीवन गुजारिरहेका छन्।
पीडित पक्षले इलाका प्रहरी कार्यालय, गरुडामा उजुरी दर्ता गरे पनि अहिलेसम्म दोषीमाथि ठोस कारबाही भएको छैन। न मृतक परिवारलाई कुनै राहत प्रदान गरिएको छ, न त मृत्यु पछिको खर्चसमेत सरकारले बेहोरेको छ। मृतकका छोरा राजेश यादवले भने, “नेताहरूले सुरुमा ठूलो आश्वासन दिए, तर अहिले त सम्पर्कमै छैनन्।”
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनामा अर्जुन उर्फ गोपाल बैठा मुख्य दोषी भएको र उनी फरार रहेको बताएका छन्। तर प्रत्यक्षदर्शीहरू र घाइते राम जिनिस साहले भने दुर्घटनाको जिम्मेवारी सशस्त्र प्रहरी हवल्दार सुवास सिंहकै रहेको स्पष्ट रूपमा बताएका छन्।
घटनापछि प्रहरीहरूकै दबाबमा अर्का व्यक्तिको नाममा दोष सार्ने प्रयास भएको दाबी पीडित र प्रत्यक्षदर्शीहरूले गरेका छन्।
अन्यायमा परेको महसुस गरिरहेका पीडित परिवारले दोषीमाथि कारबाही नभए र क्षतिपूर्ति नपाए चरणबद्ध रूपमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयमा विरोध कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
स्थानीयबासीहरू सुरक्षाकर्मी संलग्न घटनामा ढिलासुस्ती देखाउने तर सर्वसाधारण संलग्न दुर्घटनामा तुरुन्त कारबाही गर्ने दोहोरो मापदण्डप्रति असन्तुष्टि जनाउँदै आएका छन्।