जनकपुर,२८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद तथा एमाले नेता दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कापट्टा प्रक्रियामा अनियमितता गर्दै राज्यलाई करोडौं रुपैयाँ हानी पुर्याएको आरोपमा अख्तियारले मुद्दा चलाएको हो।


धनुषा क्षेत्र नं. ३ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित ठाकुरमाथि औरही गाउँपालिकाको अस्पताल निर्माणका क्रममा ठेक्कामा मिलेमतो भएको अभियोग छ। अख्तियारका अनुसार १५ शय्याको अस्पताल निर्माणका लागि गाउँपालिकाले २४ करोड ४३ लाख रुपैयाँको लागत अनुमान बनाएको थियो। तर लागतभन्दा धेरै मूल्यको प्रस्ताव पेश गर्ने कम्पनीलाई ठेक्का दिइएको पाइएको हो।
‘प्रतिष्ठा, धुलिखेल, एक्सिस एसिउन जेभी’ ले १२ करोड ३५ लाख रुपैयाँमा काम गर्ने प्रस्ताव दिएको थियो, तर त्यसलाई छोडेर १९ करोड १४ लाख रुपैयाँको प्रस्ताव दिने ‘लुम्बिनी, डीएण्डएन जेभी’ लाई ठेक्का दिइएको अख्तियारको दाबी छ।

ठेक्कासम्बन्धी निर्णय प्रक्रियामा संलग्न औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रशासकीय प्रमुख सुबोधकुमार ठाकुर, वडाध्यक्षहरू, इन्जिनियर, खरिदार लगायतका व्यक्तिहरू पनि मुद्दामा प्रतिवादी बनाइएका छन्।
सांसद ठाकुरसहित सबै १७ जनामाथि कूल ६ करोड ७९ लाख रुपैयाँ बराबरको बिगो माग गरिएको अख्तियारले जनाएको छ। आयोगले ठेक्कामा देखिएको मिलेमतो, मूल्य मूल्यांकनको विसंगति र सार्वजनिक स्रोतमा परेको क्षतिको आधारमा उनीहरूलाई कारबाहीको दायरामा ल्याएको हो।