वीरगन्ज,२८ जेठ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडकमा सेलेन्सर पड्काउदै मोटरसाइकल हुइक्याउनेहरुलाई पक्राउ गरेर कारबाहीको दायरमा ल्याउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२“ को बुधबार आयोजित समापन समारोहमा बोल्दै मेयर सिंहले उक्त निर्देशन दिएका हुन् ।


उनले भने,‘ मोटरसाइकलको सेलेन्सर मोडिफाई गरेर रोडमा हुइक्याउँदै हिड्ने उच्छृंखलहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरमा ल्याउनु पर्छ ।’ त्यस्ता उच्छृंखलहरुलाई पक्राउ गरेपछि छाडिदिनका लागि कसैको फोन आएपनि नसुन्न उनले ट्राफिक प्रहरीका अधिकारीहरुसंग आग्रहपनि गरे ।मेयर सिंहले भने,‘कानुनले जे भन्छ त्यहि गर्नु होला । मेरो मान्छे हो छोडदिनुस् भनेर कुनै नेताको फोन आयो भने नमान्नु होला । चाहे मेयर होस् चाहे उपमेयर होस् चोह सांसद होसस् वा कुनै सर्वसाधरण जनता होस् । सबै जना एउटा सिस्टममा आउनै पर्छ ।’
त्यसका कारण यो विकृति रोक्न कडाइका साथ लाग्न मेयर सिंहले ट्राफिक प्रहरीका अधिकारीहरुसंग आग्रह गरे । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लक्षित गर्दै मेयर सिंहले एक हप्तासम्म चलेको “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रममा देखेका र सिकेका कुराहरु आफ्नो व्यवहारमा लागू गर्नपनि आग्रह गरे । साथै उनले सार्वजनिक यातायातका सवारी साधन बसपार्कबाट मात्रै सञ्चालन गर्न यातायात व्यवसायीहरुसंग अनुरोध गरे ।