काठमाडौं,३० जेठ । देशका पाँच प्रदेशमा मनसुन सक्रिय भएको छ भने आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागमा मनसुनी वायु सक्रिय छ। साथै, देशको पश्चिमी भागमा पश्चिमी वायु र स्थानीय वायुले पनि प्रभाव पारेको छ। यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने एक–दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना समेत छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै छ।
महाशाखाले भारी वर्षाको सम्भावनालाई ध्यानमा राखी प्रभावित क्षेत्रमा बाढी, पहिरो, यातायात तथा जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। विशेषगरी उच्च पहाडी र हिमाली भूभागमा यात्रा गर्दा थप सावधानी अपनाउन अनुरोध गरिएको छ।