जनकपुर,३० जेठ । सर्लाहीको जिल्ला स्वास्थ्य कार्यालयमा नयाँ लेखापाल हाजिर हुन आएपछि एक अनौठो दृश्य देखिएको छ । कार्यालय प्रमुख नै बेपत्ता। अर्थ मन्त्रालयबाट सरुवा भई आएका लेखापाल ज्ञानेन्द्रकुमार यादव हाजिरका लागि कार्यालय पुगेका बेला निमित्त कार्यालय प्रमुख डा. नवलकिशोर झा भने अचानक सम्पर्कविहीन भएका हुन् ।
लेखापाल यादव बिहीबार विहान मन्त्रालयको रमाना पत्र बोकेर डा. झाको कार्यकक्षमा पुगेका थिए। पत्र बुझाएको केही समयमै डा. झा कार्यकक्ष छोडेर बाहिर निस्किए। उनले आफ्नो चस्मा र साँचासहितका सामग्री टेबलमै छोडेर मोबाइल स्विच अफ गरेका थिए । यसपछि उनी दिनभर सम्पर्कबिहीन रहन पुगे ।
असार मसान्तको चटारो र आर्थिक वर्षको अन्त्यमा लेखापालको उपस्थिति महत्वपूर्ण मानिने अवस्थामा कार्यालय प्रमुखले हाजिर गराउन चासो नदेखाउनुले गम्भीर प्रश्न खडा गरेको छ। अनुमान गरिँदैछ कि प्रमुख झाले लेखापाल यादवको हाजिरी रोक्नकै लागि यस्तो कदम चालेका हुन् ।

प्रमुख सम्पर्कमा नआएपछि कार्यालयमा वरीयतामा रहेका दोस्रो कर्मचारी, तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई औपचारिक रूपमा हाजिर गराएका छन् । यसअघि यस कार्यालयको लेखाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए ।
घटनाले स्वास्थ्य कार्यालयको आन्तरिक व्यवस्थापन र नेतृत्व क्षमतामाथि प्रश्न उठाएको छ ।