काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक खुलाउन शीर्ष तीन दलबीच दुई बुँदे सहमति भएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शुक्रबार दिउँसो यो सहमति भएको हो।
सहमति पत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्। तर, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हस्ताक्षरका लागि ठाउँ खाली राखिएको छ, जसले गर्दा रास्वपा यस विषयमा सदनमा एक्लिएको छ। रास्वपालगायतका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने माग राख्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आइरहेका थिए।
सहमितिका दुई बुँदा

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानः भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनेछ। उक्त विषयमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।
२.नीतिगत, कानुनी र संरचनात्मक सुधारः अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन तथा छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो सहमतिपछि संसदको गतिरोध हट्ने अपेक्षा गरिएको छ, तर रास्वपाको असहमतिले आगामी दिनमा थप राजनीतिक ध्रुवीकरण निम्त्याउन सक्ने संकेत देखिएको छ।