बीरगन्ज,०४ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बाघको आक्रमणबाट ५० वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको छ। उनका शव आज बिहान दक्षिणकाली सामुदायिक वन क्षेत्रमा क्षतविक्षत अवस्थामा फेला परेको छ।
ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जङ्गल गएका थिए। उनी घर फर्केका थिएनन्, जसपछि उनका खोजी गरिँदै आएको थियो। वडाध्यक्ष सुवास श्रेष्ठका अनुसार जङ्गलमा खोजी गर्ने क्रममा बाघले आक्रमण गरेको अवस्थामा ब्लोनको शव फेला परेको हो।
ब्लोन अविवाहित थिए र लामो समयदेखि आफ्नी दिदी र भिनाजुको घरमा बस्दै आएका थिए। यस घटनाले अमलेखगञ्ज क्षेत्रमा त्रास फैलाएको छ। प्रहरी र स्थानीय जनप्रतिनिधिहरूले घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन्।