पर्सा — धनगढीमाई नगरपालिका वडा नं. ११ र १३ का हजारौं बासिन्दाहरूलाई लक्षित गर्दै निर्माण गरिएको डावरटोल–नैनपुरटोल खानेपानी आयोजना आज औपचारिक रूपमा सम्पन्न भई उद्घाटन गरिएको छ।
उक्त आयोजना जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै सांसद यादवले पानीलाई समृद्धिको मूल आधारका रूपमा व्याख्या गर्दै यस आयोजनाले स्थानीयको दैनिक जीवनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरे।
“पानी केवल प्यास मेटाउने स्रोत होइन, यो समृद्धिको मूल हो। जहाँ पानीको अभाव छ, त्यहीँ अवसर पुर्याउने सरकारको अठोट आज मूर्तरूपमा देखिएको छ,” यादवले उद्घाटन समारोहमा भन्नुभयो।

उहाँले आयोजनालाई सफल बनाउन योगदान दिने स्थानीय समुदाय, जनप्रतिनिधि, निर्माण कम्पनी, प्राविधिक टोली तथा सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता दिगो र समावेशी खानेपानी परियोजनाहरूलाई आगामी दिनमा अझ विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो।
“पानीले जोड्नेछ हाम्रो पहिचान, समृद्धि र भविष्य,” भन्दै प्रदीप यादवले कार्यक्रम समापन गर्नुभयो।